नेपालको संविधान, २०७२ द्वारा स्थापित संघीय शासन प्रणाली अन्तर्गत मधेश प्रदेश सरकारको एक महत्वपूर्ण मन्त्रालयको रूपमा मिति 2080/02/01 गते श्रम तथा यातायात मन्त्रालय स्थापना भएको हो। प्रदेशभित्र श्रम, रोजगार, सीप विकास, यातायात व्यवस्थापन तथा सवारी प्रशासनसँग सम्बन्धित नीति, योजना, कार्यक्रम तथा सेवाहरूको प्रभावकारी कार्यान्वयन गरी नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्नु यस मन्त्रालयको प्रमुख दायित्व रहेको छ।
मन्त्रालयले प्रदेशको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने उद्देश्यले श्रम बजारको व्यवस्थापन, रोजगारी प्रवर्द्धन, श्रमिकको हकहित संरक्षण, सीपमूलक तालिम सञ्चालन तथा सुरक्षित र व्यवस्थित यातायात प्रणालीको विकासमा विशेष जोड दिँदै आएको छ। साथै सवारी साधन दर्ता, नवीकरण, नामसारी, चालक अनुमतिपत्र व्यवस्थापन, यातायात सेवा सञ्चालनको नियमन तथा सडक सुरक्षासम्बन्धी कार्यक्रमहरू सञ्चालन गरी प्रदेशवासीलाई सहज, सुरक्षित र प्रविधिमैत्री सेवा उपलब्ध गराउँदै आएको छ।
प्रदेश सरकारको समृद्धि, सुशासन र सेवा प्रवाहको लक्ष्यलाई आत्मसात् गर्दै मन्त्रालयले श्रम तथा यातायात क्षेत्रलाई आधुनिक, उत्तरदायी, पारदर्शी र जनमैत्री बनाउने दिशामा निरन्तर कार्य गरिरहेको छ।